काठमाडौंमा चल्ने सार्वजनिक गाडीको रूटअनुसार फरक-फरक रङ

काठमाडौं  । अब काठमाडौं महानगरभित्र गुड्ने सार्वजनिक सवारी साधन रुटअनुसार फरक-फरक रङका हुने भएका छन्।

महानगरपालिकाले आइतबार सार्वजनिक गरेको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ मा यो नीति समावेश गरिएको हो। यो ऐन आगामी वैशाख महिनाको अन्त्यबाट लागू हुने महानगरले जनाएको छ।

रुट तोकिएका गाडीले पनि जहाँ पायो त्यहीँ यात्रु चढाउने र ओराल्ने समस्या हटाउन रङ लगाउनुपर्ने व्यवस्था गरिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

‘धेरै चालकले लापरबाही रूपमा जहाँ मन लाग्यो त्यहीँ मान्छे चढाएको र ओरालेको पाइयो। अब रूटअनुसार रङ लगाउने भएपछि त्यस्ता सवारी नियमन गर्न सजिलो हुनेछ,’ डंगोलले भने, ‘कुन गाडीले कहाँ रोक्यो? के गर्यो? भन्ने टाढैबाट देख्न सकिन्छ।’

उनका अनुसार आइतबारको नगरसभाबाट यो अध्यादेश जारी भएको हो। राजपत्रमा प्रकाशित भएर बाहिर आउँदा १५ दिन जति लाग्छ। त्यसपछि नियम लागू हुन्छ।

यो नियम नमाने सेवा प्रदायक कम्पनी वा संस्थाले सुनुवाई अथवा पुनरावेदनको मौका नपाउने डंगोलले बताए। त्यस्तै पाँच सयदेखि दुई हजारसम्म जरिवाना व्यवस्था छ। पटक पटक गल्ती दोहोरिएमा रुट परमिट खारेज गरिदिने समेत व्यवस्था भएको उनले जानकारी दिए।

‘हामीले नीतिगत निर्णय गर्यौं। यसलाई अनुगमन गर्न टोली पनि बनाएका छौं। यसको प्रभावकारीतालाई बढाउन र कसरी अघि बढ्ने थप छलफलपछि अघि बढ्छ,’ प्रवक्ता डंगोलले भने।

यसैगरी, ऐनमा सार्वजनिक सवारीका यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्नुपर्ने र बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्रका आधारमा सहुलियत उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

सार्वजनिक यातायातले तोकिएको स्थानमा मात्र यात्रु चढाउने तथा ओराल्ने, चालक र सहचालकलाई पोशाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने, प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण, फोहोर फाल्ने भाँडो अनिवार्य राख्नुपर्नेछ।

महानगरसँग स्वीकृति नलिई कुनै पनि सवारीमा प्रचार सामग्री राख्न पाइने छैन। महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारीले कार्तिकदेखि माघ मसान्तसम्म बिहान ५ बजेदेखि राती ९ बजेसम्म र बाँकी महिना बिहान ५ बजेदेखि राती १० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्नेछ।

ऐन टिकट काटेर मात्र यात्रा गर्ने, यात्राका क्रममा उत्पादित फोहोर तोकिएको स्थानमा मात्र फाल्ने, अरुलाई असर हुने क्रियाकलाप नगर्ने, यात्राका क्रममा मदिरा तथा सूर्तिजन्य वस्तु सेवन नगर्ने, अश्लिल नबोल्ने, यौनजन्य हिंसा नगर्ने, लागूऔषधको ओसारपसार नगर्ने आचरणलाई यात्रुको दायित्वमा राखिएका छन्।

यस्तै चालकको आचरणमा पोशाक लगाएर मात्र सवारी चलाउने, जथाभावी यात्रु चढाउने र ओराल्ने वा जथाभावी पार्किङ नगर्ने, अश्लील नबोल्ने, अश्लील गीत नबजाउने, अश्लील फोटो नटाँस्ने, रुट स्वीकृत नपाएका सडकमा नजाने, मदिरा तथा सूर्तिजन्य वस्तु प्रयोग नगर्ने, यौनजन्य दुर्व्यवहार नगर्नेजस्ता दायित्व राखिएका छन्।

परिचालकको दायित्वमा यात्रुलाई टिकट दिने, फिर्ता पैसा दिन आलटाल नगर्ने, मदिरा र सूर्तिजन्य वस्तुको सेवन नगर्ने, तोकिएको पोशाक लगाउने, यौन हिंसा नगर्नेजस्ता काम पर्छन्।

यी आचरण पालना नगर्ने यात्रु, चालक, परिचालक र कम्पनीलाई सजाय सम्बन्धी व्यवस्था पनि ऐनले गरेको छ। यसरी गरिएका सजाय सम्बन्धी व्यवस्थामा कसुर हेरी न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। त्यस्तै गम्भीर खालका गल्ती गर्नेलाई यातायात सञ्चालनमा रोक लगाउने सक्ने व्यवस्था गरिएको छ।

रोक लगाउनुअघि व्यक्तिलाई सुनुवाईको मौका दिने व्यवस्था छ। यसरी गरिएका कारवाहीमा चित्त नबुझे महानगरको न्याय प्रशासकमार्फत प्रमुखसमक्ष पुनरावेदन गर्ने र उल्लेखित बुँदामा प्रमुखले गरेको निर्णय अन्तिम हुने व्यवस्था गरिएको महानगरले जनाएको छ। 

https://setopati.com/social/178373